ह्यात रिजेन्सीको बन्द सेवा खोल्न पहल, सरकारले दियो सुरक्षाको ग्यारेन्टी
काठमाडौँ — प्रधानमन्त्री कार्कीको विशेष चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान ह्यात रिजेन्सी होटलको व्यवस्थापनसँग वर्तमान अवस्थाबारे जानकारी लिएका छन्। सरकारले यस संवेदनशील विषयमा तत्कालै चासो देखाएको छ।
अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा पुनः सुचारु गर्न आग्रह गरेका छन्। उनले सरकार पूर्ण सुरक्षाको प्रत्याभूति दिन तयार रहेको बताउँदै, “तपाईंहरू आत्तिनु पर्दैन, उच्च मनोबलका साथ आफ्नो सेवा निरन्तरता दिनुहोस्। हामी साथमा छौँ, सुरक्षाको व्यवस्था सरकारले सुनिश्चित गर्नेछ।” सरकारको यो आश्वासनले सेवा पुनः सञ्चालन गर्ने प्रयासमा बल पुगेको छ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले जारी गरेको सूचनामा सुरक्षा संवेदनशीलता तथा मर्मत–पुनर्निर्माणको जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण व्यावसायिक सेवा पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ। व्यवस्थापनले अर्को सूचना नआएसम्म वा अन्य निर्णय नभएसम्म श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुन आग्रह गरेको छ।
यसैबीच प्रधानमन्त्रीको सचिवालयले आइतबार होटल बन्दबारे थप छलफल गरी आवश्यक पहल गर्ने जानकारी दिएको छ। सरकार तथा होटल व्यवस्थापनबीचको संवादबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास तीव्र बनेसँगै होटलका कर्मचारी र सरोकारवालामा आशा समेत जागेको छ।
