माओवादी केन्द्र र नेकपा एस एकताको अन्तिम चरणमा

तु खबर संवाददाता
२०८२ कार्तिक ७, शुक्रबार १६:११

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)बीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै दलका शीर्ष नेताहरूले कात्तिक ३० भित्रै एकता घोषणा गर्दै आगामी निर्वाचनमा एकीकृत पार्टीको रूपमा भाग लिने तयारी पूरा भएको बताएका छन् । वार्ता टोलीबीचको निरन्तर छलफलले सकारात्मक प्रगति गरिरहेको र ठूलो अवरोध नदेखिएकोले अब एकता नटुट्ने विश्वास व्यक्त गरिएको छ । साथै राष्ट्रिय सम्मेलनपछि दल दर्ता प्रक्रिया सुरु गर्ने गृहकार्यसमेत तीव्र गरिएको छ ।

संगठनात्मक संरचनाका दृष्टिले माओवादी केन्द्र र नेकपा एस बीच धेरैजसो समानता रहेकाले एकता कार्यान्वयन तुलनात्मक रूपमा सहज हुने देखिएको छ । दुवै दलले लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको अभ्यासलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ ।

पार्टी नाम र चुनाव चिन्हका विषयमा पनि प्रारम्भिक सहमति बनिसकेको छ । नयाँ पार्टीको नाममा ‘माओवादी’ शब्द नसमेट्ने निश्चित भएको छ । सम्भावित नामका रूपमा ‘नेकपा समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्तावित छन् । त्यसैगरी, चुनाव चिन्हका लागि अबको विकल्प माओवादी केन्द्रको हँसिया–हथौडा वा नेकपा एसको कलममध्येको कुनै एकमा सहमति बनाउने प्रयास भइरहेको छ । यदि दुवै चिन्हमा सहमति नजुटेमा नयाँ र उपयुक्त चिन्ह रोजिने बताइएको छ ।

समग्रमा, दुवै दलबीचको पार्टी एकता अब निर्णायक मोडमा पुगेको छ । सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधार प्रायः तय भइसकेको अवस्थामा अन्तिम क्षणमा कुनै अप्रत्याशित बाधा नआएका खण्डमा निकट भविष्यमा एकीकृत कम्युनिस्ट पार्टीले देशव्यापी राजनीतिक अभियान सुरु गर्ने अपेक्षा गरिएको छ ।