निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र दलबीच आज बालुवाटारमा छलफल
काठमाडौं। निर्वाचन तयारीलाई अघि बढाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले आज मंगलबार दिउँसो ४ बजे राजनीतिक दलका नेताहरूसँग बालुवाटारमा महत्वपूर्ण छलफल गर्न लागेकी छन्। यो छलफलमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरिसकेको छ।
छलफलमा प्रमुख तीन राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्। नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने निश्चित भएको छ। त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। नेकपा माओवादी केन्द्रबाट पनि प्रतिनिधि उपस्थित हुने तयारी गरिएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलका नेताहरूसँग प्रारम्भिक छलफल गरिसकेका छन्। आजको बैठकलाई निर्वाचनको व्यवस्थापन, सुरक्षा तयारी र राजनीतिक सहमति निर्माणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।
