भयरहित निर्वाचनका लागि सरकार र सुरक्षा निकाय तयार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने सुनिश्चितता दिलाउन सरकार र चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
शनिबार राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहित भएको बैठकमा राष्ट्रपति पौडेलले निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा व्यवस्था बारे समीक्षा गर्दै सबै निकायलाई जिम्मेवारीपूर्वक सक्रिय हुन आग्रह गरे।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, पौडेलले सुरक्षा निकायहरूलाई शान्ति–सुरक्षा कायम गर्न ‘बोल्ड्ली’ प्रस्तुत हुन निर्देशन दिएका थिए। उनले भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरूलाई तत्काल फिर्ता ल्याउन पनि आदेश दिएका छन्।
बैठकमा सहभागी चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने तयारी पूरा भएको जानकारी गराएका थिए। उनीहरूले यसअघि पनि कठिन परिस्थितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव सुनाउदै गर्दा आफ्नो दायित्व पुरा गर्न तयार रहेको बताए।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाइन्। उनले सुरक्षा व्यवस्थाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने र व्यवस्थापनको काम भइरहेको बताइन्।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सुरक्षा निकायहरूको समन्वयमा निर्वाचनलाई सफल बनाउन आवश्यक सबै तयारी भइरहेको जानकारी दिएका थिए।
राष्ट्रपति पौडेलको पहल र प्रधानमन्त्री कार्कीको समन्वयमा सम्पन्न बैठक निर्वाचनका तयारी, सुरक्षाको अवस्था र राजनीतिक दलहरूसँग भइरहेको संवादका विषयमा केन्द्रित भएको राष्ट्रपतिका सचिवालयले जनाएको छ।
