देशको हित केन्द्रमा राखी अघि बढ्न देउवाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन-जी आन्दोलनले उठाएका जायज मागहरू पूरा गर्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्ष स्मरण गराउँदै जेनजीका मागबारे केन्द्रीय समिति बैठकमा गहन छलफल हुने बताए।
देउवाले आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अवस्थाबारे पनि प्रस्ट पार्दै भने, “अहिले अन्तरिम सरकार गठन भएर प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बनेको छैन।”
उनले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा भएको सांघातिक हमलाको पनि स्मरण गरे। देउवाले भने, “गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि ज्यानै लिने मनसायले हमला भयो। घरमा तोडफोड, लुटपाट र आगजनी गरियो। सुरक्षाकर्मीको घण्टौँको प्रयासपछि मात्रै हामीलाई उद्धार गरिएको थियो।”
सभापति देउवाले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक रहेको भन्दै , “यो अनुसन्धान कसैको तत्कालिक नाफा–घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर हुनुपर्छ।” उनले देशका सबै अंगहरूको मनोबल गिरेको बताउँदै राजनीतिक स्थायित्व र राष्ट्रिय एकताका लागि जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।
स्वास्थ्य अवस्थाका कारण देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी तोकिएको जानकारी पनि दिदै उनले भने, “उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”
नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला देउवाले कार्यवाहक तोके पनि आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारे। उनले २४ गतेको घटनालाई नेपालको इतिहासकै “डरलाग्दो दिन”को रूपमा वर्णन गर्दै अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
