मन्त्री पुनको जेनजीलाई आग्रह: ‘गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले इतिहासका उदाहरणहरू पेस गर्दै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई बारम्बार कमजोर बनाएको बताएका छन् ।
मन्त्री पुनले जेनजी पुस्ता र राष्ट्रप्रेमी सम्पूर्ण नेपालीलाई एकताको आव्हान गर्दै भनेका छन्, “तपाईंहरू देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपाल निर्माण गर्न चाहनुहुन्छ, तर त्यसका लागि एकता अत्यन्तै जरुरी छ । गुटबन्दी र खुट्टा तानातानले त्यो सपना असम्भव बनाउँछ।”
उनले ऐतिहासिक उदाहरण दिँदै भनेका छन् कि नाबालक राजा रणबहादुर शाहको पालादेखि सुरु भएको गुटबन्दी र खुट्टा तानातानकै कारण देशले दीर्घकालीन नोक्सान भोग्नुपर्यो । “त्यो प्रवृत्तिले नै नेपाली जनताले १०४ वर्षसम्म निरंकुश राणातन्त्र बेहोर्नुपर्यो,” उनले उल्लेख गरेका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत ६ बुँदामा सुझाव प्रस्तुत गर्दै गुटबन्दीका कारण देशले भोगेका विभिन्न ऐतिहासिक नतिजा स्मरण गराएका छन् — शाहकालदेखि नै सुरु भएको गुटबन्दीले राणातन्त्रको जन्म गरायो, राणातन्त्रभित्र पनि आपसी गुटबन्दीले राणा शासनलाई कमजोर बनायो र अन्ततः २००७ सालमा समाप्त गर्यो , प्रजातन्त्र आएपछि दलबीचको खुट्टा तानातानकै कारण राजा महेन्द्रले पञ्चायती शासन ल्याउने अवसर पाए, पञ्चायती शासनभित्र पनि विभिन्न गुटहरूबीचको द्वन्द्वले व्यवस्था ढल्यो, २०४६ पछि लोकतन्त्र आए पनि दलहरूबीचको चरम गुटबन्दीले जनतामा मोहभङ्ग गरायो, जसको परिणामस्वरूप जेनजी आन्दोलन विस्फोट भयो र अहिले पनि जेनजीहरूभित्र त्यस्तै प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले त्यसलाई रोक्न आग्रह गरेका छन् ।
पुनले लेखेका छन्, “तपाईंहरूमा देशप्रेम छ, सपना छ, क्षमता छ — तर यदि गुटबन्दी र खुट्टा तानातान दोहोरियो भने इतिहासले फेरि हाम्रो पुस्तालाई पनि माफ गर्ने छैन।”
उनले अन्त्यमा भनेका छन्, “म विनम्र अनुरोध गर्दछु — मातृभूमिको अस्तित्वका लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास दोहोर्याउन नदिनुहोस्।”
