ओलीको स्वास्थ्यमा समस्या देखिएपछि एमाले सचिवालय बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका लागि तय गरिएको बैठक रद्द गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
शुक्रबार भक्तपुरस्थित ओली निवास गुण्डुमा सुरु भएको सचिवालय बैठक करिब साढे ६ घण्टा चलेको थियो। बैठक राति अबेरसम्म चलेकाले अध्यक्ष ओलीलाई रुघाखोकीको समस्या देखिएको र चिकित्सकको सल्लाहअनुसार विश्राम लिन सुझाव दिइएको स्रोतले जानकारी दिएको छ।
उक्त बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत नेताहरूले पार्टीमा नयाँ नेतृत्वको आवश्यकता रहेको भन्दै ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए। त्यसमध्ये उपाध्यक्ष शाक्यले खुलामञ्चमै ओलीको राजीनामा माग गरेकी थिइन्।
स्रोतका अनुसार सचिवालयका नौजना सदस्यले पहिलो दिन आफ्ना धारणा राखेका थिए, जसमा ६ जनाले अध्यक्ष ओलीले नेतृत्व त्याग्नुपर्ने मत राखेका थिए। शनिबार बैठक निरन्तरता दिने तयारी भइरहेका बेला ओली अस्वस्थ भएपछि नेताहरू बाटैबाट फर्किएका छन्।
पार्टीका एक नेताका अनुसार ओलीको स्वास्थ्य सामान्य रहे पनि चिकित्सकको सल्लाहअनुसार केही दिन विश्राम लिने तयारी गरिएको छ। सचिवालय बैठक नयाँ मितिमा पुनः आह्वान गरिने जनाएको छ।
