अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन–जी युवाहरूको प्रदर्शन

तु खबर संवाददाता
२०८२ आश्विन २१, मंगलवार ११:३९

काठमाडौं । जेन–जी आन्दोलनका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै आज टंगालस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

आज बिहान भएको प्रदर्शनमा सहभागी युवाहरूले “भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर”, “अख्तियारलाई राजनीतिक स्वार्थको उपकरण नबनाऊ” जस्ता नारासहित आयोगको निष्पक्षता र विश्वसनीयता प्रश्नमा परेको भन्दै राजीनामाको माग गरेका हुन्। प्रदर्शनलाई लक्षित गरी आयोग परिसर वरपर सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको थियो।

अलायन्सले भदौ २३ गतेदेखि सुरु गरिएको जेन–जी आन्दोलन का मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य रहेको उल्लेख गर्दै, ती माग पूरा गर्नका लागि अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गरेको छ। सोही सन्दर्भमा अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको भन्दै उनीहरूले नयाँ नेतृत्वको माग उठाएका हुन्।

आन्दोलनकारीहरूले बुझाएको दबाबपत्रमा भनिएको छ, “तपाईंलगायत सम्पूर्ण आयुक्तहरूको नियुक्ति संसदीय सुनुवाइबिना नै तत्कालीन प्रधानमन्त्री ओलीको सरकारले अध्यादेशमार्फत एकपक्षीय ढङ्गले गरेको हुँदा, उक्त नियुक्तिले आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।”

दबाबपत्रमा थप भनिएको छ, “तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती रहेको भन्ने आलोचना व्यापक रूपमा फैलिएको छ। तपाईं स्वयं वाइडबडी घोटालालगायत विभिन्न भ्रष्टाचारका मुद्दामा मुछिनु भएको र विशेष अदालतले समेत आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाएको तथ्यले आयोगको विश्वसनीयता थप क्षीण पारेको छ।”

जेन–जी समूहका अनुसार अख्तियारको वर्तमान नेतृत्वमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्भव छैन। त्यसैले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि दिएको बलिदानको सम्मान गर्दै, प्रमुख आयुक्त प्रेम कुमार राईलगायत सम्पूर्ण आयुक्तहरूले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ।

तपसिलमा ३९ वटा जिल्लाको प्रतिनिधित्व गर्ने १२ वटा जेन–जी समूह का तर्फबाट हस्ताक्षर गरी प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको जनादेशसम्बन्धी सम्झौता को दोस्रो माग — संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण र राजनीतिक नियुक्तिको अन्त्य — को प्रतिलिपि समेत संलग्न गरिएको छ।