सञ्चारमन्त्रीद्वारा पदभार ग्रहणः दश सहरमा निशुल्क इन्टरनेट विस्तार गरिने

तु खबर संवाददाता
२०८२ आश्विन ६, सोमबार १७:५०

काठमाडौं । सात प्रदेशका ठूला दश सहरहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी तयारी गर्न नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्देशन दिएका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएसँगै पदभार ग्रहण गर्ने समयमा सात प्रदेशका दश सहरहरुमा निशुल्क इन्टरनेट विस्तार गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयले तयार पारेको अर्को कुनै निर्णयमा सञ्चार मन्त्रीको हस्ताक्षर गराई पदभार ग्रहण गराउने तयारी भइरहेको समयमा मन्त्री खरेलले प्रमुख दश सहरमा ५ महिनाभित्र निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णयका लागि टिप्पणी उठाउन निर्देशन दिएका हुन् । त्यसरी टिप्पणी उठेर आएपछि उनले सदर गरेका थिए ।

साथै उनले दुई महिनाभित्र काठमाडौं उपत्यकाको सबै स्थानमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने पनि निर्णय गरेका छन् । त्यसका निम्ति कर्मचारीहरुलाई सकिन्छ नि, भनेर प्रश्न गरेका खरेलले कर्मचारीले सकिन्छ भन्ने बचन दिएपछि निर्णय सदर गरेका थिए ।

इमेज टेलिभिजनमा प्रमुखको रुपमा कार्यरत खरेल सञ्चार मन्त्री नियुक्त भएका हुन् ।