रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग, नयाँ अभियानको घोषणा
काठमाडौं । सामाजिक सञ्जालमार्फत पूर्वसांसद रेशम चौधरीले आफू ‘नागरिक उन्मुक्ति पार्टी’ (नाउपा) बाट अलग भएको घोषणा गरेका छन् । पछिल्लो समय चौधरी र अध्यक्षसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद बढ्दै गएको थियो ।
चौधरीले अब छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृत जानकारी सार्वजनिक गर्ने बताएका छन् । उनले पार्टी पंक्तिलाई नयाँ अभियानमा जोडिन आह्वान गर्दै जेन–जी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टीकापुर घटनाको योजनाकारको आरोपमा लामो समय जेल बसेका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाइ बाहिर आएपछि दम्पतीबीच मतभेद गहिरिँदै गएको थियो । जसपा छोडेर २०७८ पुसमा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका थिए । उक्त पार्टी निर्वाचन आयोगमा चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी दर्ता भएको थियो ।
वर्तमानमा संघीय संसदमा चार र प्रदेश सभामा सात गरी कुल ११ सांसदसहित नाउपाको सुदूरपश्चिम, लुम्बिनी र मधेसमा प्रतिनिधित्व छ ।
