सुन्धारामा युवाबीच झडप, अन्तरिम सरकार गठन अझै अनिश्चित
काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार युवाहरूबीच विवादास्पद झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन बनेको अवस्थामा, जेनजी आन्दोलनका नाममा विभिन्न समूहले नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै सडकमा उत्रिएका थिए।
मुलुक नेतृत्वविहीन बनेपछि नेपाली सेनाले अस्थायी रुपमा राजनीतिक संवाद थाल्दै युवाहरूसँग छलफल गर्न खोजे पनि, आन्दोलनमा संलग्न समूहहरूले फरक–फरक नेताको नाम अघि सारेपछि आपसी मनमुटाव चर्किएको हो। अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौं महानगर प्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङलाई प्रस्ताव गर्दै समूहहरूबीच प्रतिस्पर्धा बढेको देखिएको छ।
यसअघि बुधबार जंगीअड्डा अगाडि पनि समान विषयमा युवाहरूबीच ठूला वादविवाद भएका थिए। सेनाले मुख्यालय परिसरमा भिड जम्मा हुन नदिएपछि बिहीबार सुन्धारा क्षेत्रमा युवाहरूको भीड केन्द्रित भएको हो।
युवाहरूबीचको आन्तरिक असहमति र शक्ति प्रदर्शनका कारण अन्तरिम सरकार गठनको विषय अझै अनिश्चित बनेको देखिएको छ।
