अन्तरिम नेतृत्वका लागि सुशीला कार्कीको नाममा सहमति

तु खबर संवाददाता
२०८२ भाद्र २५, बुधबार १७:२५

काठमाडौँ । करिब चार घण्टासम्म चलेको जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने तयारी गरेको छ।

बैठकमा सहभागी अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने अडान राख्दै राजनीतिक दलसँग प्रत्यक्ष आबद्ध व्यक्ति वा विवादित नेतृत्वलाई अस्वीकार गर्ने निष्कर्ष निकालेका छन्। यस क्रममा हाल नागरिक अभियन्ता रहेकी कार्कीको नाम सर्वमान्य रूपमा अघि सारिएको हो।

सहभागीहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि पनि उपयुक्त ठहर गरेका छन्। उनीहरूले भने, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ। त्यसपछि बालेन्द्र शाह र सागर ढकालजस्ता व्यक्तिहरू पनि विकल्पमा हुन सक्नुहुन्छ। तर अहिलेको सन्दर्भमा अन्तरिम सरकारको नेतृत्व गर्न कार्की नै उपयुक्त हुनुहुन्छ।”

भर्चुअल छलफलमा तत्काल कार्कीको विकल्पका रूपमा अर्को सक्षम व्यक्तिको नाम नदेखिएको भन्दै ‘सुशीला कार्कीको नाममा नोटिस निकालौँ, डन भयो, अनाउन्स गरौँ’ भन्ने सहमति समेत बनेको सहभागीहरूले बताएका छन्।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवसायी दुर्गा प्रसाईंलाई वार्तामा समावेश गर्ने प्रस्ताव गरेका थिए। तर जेन–जी समूहले उक्त प्रस्ताव अस्वीकार गरेको हो।