जेनजी आन्दोलन आक्रामक : शीर्ष नेतादेखि दलका कार्यालयसम्म तोडफोड र आगजनी

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १२:०८

काठमाडौं । जेनजी आन्दोलन मंगलबार अझै आक्रामक बनेको छ । सोमबार १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरू मंगलबार बिहानैदेखि विभिन्न शीर्ष नेताहरूको निवासदेखि दलका केन्द्रीय कार्यालयसम्म तोडफोड र आगजनीमा उत्रिएका छन् ।

ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले सुरुमा ढुंगामुढा गरी त्यसपछि आगजनी गरेका छन् । त्यस्तै, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित घरमा समेत आगजनी भएको छ ।

निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवासमा समेत भीडले पुगेर आगजनी गरेको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौंस्थित निवासमा पनि भीड प्रवेश गरी मुख्य गेट फुटाएर तोडफोड गरेको छ ।

यसैबीच, कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । राजधानीको बुढानीलकण्ठस्थित ऊर्जामन्त्री दीपक खड्काको निवासमा पनि मंगलबार बिहान आगजनी गरिएको छ ।

युवाहरूको आक्रोश दलका कार्यालयहरूमा समेत फैलिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा तोडफोड भएको छ भने नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय कब्जा गर्दै आगजनी गरिएको छ ।

त्यसैगरी, राजधानीको बनस्थलिस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास विभिन्न समूहका प्रदर्शनकारीहरूले कब्जा गरेका छन् । उनीहरूले आवतजावत नियन्त्रण गर्दै घर वरिपरिको कोठा चाहारेर आगलागी गरिरहेका छन् ।

सरकारको दमन र नेताहरूको मौनताप्रति असन्तुष्ट बनेका जेनजी युवाहरूको आन्दोलन अहिले नेतृत्वविहीन तर उग्र स्वरूप लिँदै देशव्यापी फैलिएको छ ।