कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १०:२६

काठमाडौं । जेनजी आन्दोलनमाथि भएको सरकारी दमनप्रति असहमति जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका अधिकारीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै २०८२ भाद्र २३ गते भएको प्रदर्शनमा युवापुस्तामाथि भएको दमनलाई “अलोकतान्त्रिक कदम” भन्दै पद त्यागेको घोषणा गरेका हुन् ।

अधिकारीले आफूलाई “अपराधबोध” भएको र “नैतिकताको खिलाफ” भएकाले पदमा बसिरहन नसक्ने बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्,
“हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेका छौं कि भन्ने प्रश्नले मलाई झस्काएको छ।”

धादिङ-२ बाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले मन्त्री पद सम्हालेको करिब दुई महिनामै पद त्याग गरेका हुन् । उनले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि कुनै पनि सत्ता वा पद हुन नसक्ने भन्दै लोकतन्त्रलाई सम्मान गर्न सबै दल र नेताहरूप्रति आह्वान गरेका छन् ।

“देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार हुन पुग्यो, यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन,” अधिकारीले भनेका छन् ।

अधिकारीले आफ्नो राजीनामासँगै सरकारले चाँडै लोकतान्त्रिक मूल्य–मान्यताको बाटोमा फर्कनुपर्ने आवश्यकता औंल्याएका छन् ।