उपसभामुख रानाविरुद्ध कांग्रेस–एमाले हस्ताक्षर संकलन सुरु

तु खबर संवाददाता
२०८२ भाद्र ३, मंगलवार ११:५३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । पदीय आचरणअनुसार काम नगरेको आरोप लगाउँदै दुई दलले संयुक्त रूपमा प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।

यसका लागि दुवै दलले आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । एमालेका एक सांसदका अनुसार मंगलबार दिउँसो २ बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदलाई जानकारी दिइएको छ । कांग्रेसले पनि बिहान पदाधिकारी बैठक बसेर निर्णय गरेपछि सांसदलाई दलको कार्यालयमा बोलाएको हो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाललगायत सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्चको फैसला मात्र नभई उपसभामुख रानाविरुद्ध प्रस्ताव दर्ता गर्ने विषयमा समेत सहमति जुटेको स्रोतले जनाएको छ ।

उपसभामुख राना हाल अमेरिका भ्रमणमा छिन् । उनका सचिवालयका अनुसार उनी व्यक्तिगत भ्रमणमा गत साउन ३० गते अमेरिका गएकी हुन् र यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । राना विदेशमै रहँदै गर्दा उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएकाे हो ।