सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने मन्त्री शाहीद्वारा जानकारी

काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जानकारी दिएका छन् ।
आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै वन तथा वातावरण मन्त्री शाहीले यस्तो जानकारी दिएका हुन् ।
विकास र वातावरणलाई सँगसँगै लैजान वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने पनि मन्त्री शाहीले बताए ।
प्लास्टिक प्रदुषण नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले विश्वस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ भने प्लास्टिक प्रदुषण र सामुद्रीक प्रदुषण नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माणमा जुटिरहेको सन्दर्भमा मन्त्री शाहीको यस्तो घोषणा आएको हो ।