नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले मनाउने भयो ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
गिरिजा अधिकारी
संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क ।
नेपालको प्रस्ताव र कूटनीतिक सक्रियतामा संयुक्त राष्ट्र संघले एक ऐतिहासिक निर्णय गर्दै अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरेको छ ।
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले मार्च १० मा महासभाको ८०औँ सत्रमा यस सम्बन्धी प्रस्ताव पेश गरेका थिए, जसलाई महासभाले पारित गरेको छ । संयुक्त राष्ट्रसंघको सदस्य भएयता नेपालले प्रस्ताव गरेको र राष्ट्रसंघबाट पारित भएको यो महत्वपूर्ण प्रस्ताव हो ।
नेपालले संयुक्त राष्ट्र संघमा कुनै पनि अन्तर्राष्ट्रिय दिवसको घोषणाका लागि नेतृत्व लिएको यो पहिलो पटक हो, जसलाई विश्व मञ्चमा नेपालको बढ्दो कूटनीतिक प्रभाव र स्वास्थ्य क्षेत्रमा देखाएको तदारुकताका रूपमा हेरिएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि पत्रकार सम्मेलन गर्दै यसलाई महत्वपूर्ण उपलब्धीको रुपमा औल्याएको छ । परराष्ट्रमन्त्री बालानन्द शर्माको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा यसलाई महत्वपूर्ण कुटनीतिक सफलताको रुपमा हेरिएको जानकारी दिइयो ।
यस प्रस्तावलाई आर्मेनिया, अस्ट्रिया, बंगलादेश, भुटान, जर्मनी, भारत, काजकिस्तान, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स र उज्वेकिस्तान लगायतका ४० भन्दा बढी राष्ट्रहरूले सह-प्रायोजन गर्दै बलियो समर्थन जनाएका थिए ।
राजदूत थापाले महासभाको पूर्ण सत्रमा प्रस्ताव प्रस्तुत गर्दै वर्तमान विश्वले सामना गरिरहेका जटिल र एकअर्कासँग जोडिएका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न ‘वेलनेस’ अर्थात् कल्याणको अवधारणा अपरिहार्य रहेको बताए। उनले विभिन्न विश्वव्यापी संकटहरूले स्वास्थ्य प्रणालीमा अभूतपूर्व दबाब बढाएको उल्लेख गर्दै निवारक स्वास्थ्य रणनीति र जीवनशैलीमा आधारित दृष्टिकोणमा जोड दिए ।
पारित प्रस्ताव अनुसार कल्याण एक होलिस्टिक अवधारणा हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र पारिस्थितिक हितलाई समेट्दछ । यो पहलले विशेष गरी नसर्ने रोगहरूको बढ्दो भार कम गर्न र मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
संयुक्त राष्ट्र संघको यो घोषणाले दिगो विकास लक्ष्य ३ लाई प्राप्त गर्न थप मद्दत पुर्याउनेछ, जसले सन् २०३० सम्ममा नसर्ने रोगहरूबाट हुने अल्पायु मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य राखेको छ । प्रस्तावमा परम्परागत ज्ञान, स्वदेशी उपचार पद्धति र आधुनिक स्वास्थ्य प्रणालीलाई जोड्दै किफायती र समावेशी कल्याणकारी अभ्यासहरूमा पहुँच सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
अबदेखि हरेक वर्षको अप्रिल १५ लाई विश्वभर शिक्षा, सांस्कृतिक आदानप्रदान र चेतनामूलक कार्यक्रमहरू मार्फत ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइनेछ, जसले मानव मर्यादा र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्ने एउटा साझा विश्वव्यापी मञ्च प्रदान गर्नेछ ।
