लदी (कोशी) पूजाको दिन सार्वजनिक बिदाको माग

तु खबर संवाददाता
२०८१ माघ २५, शुक्रबार १२:२३

मकवानपुर । नेपाल माझी उत्थान संघले माझीहरूको महान पर्व लदी ( कोशी ) पूजाको दिन बागमती प्रदेश भारी सार्वजनिक बिदाको माग गरेको छ । केन्द्रीय समितिले पदाधिकारी ,सदस्य र बुद्धिजीवीहरूको संयुक्त उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाउँदै सार्वजिक बिदा माग गरेको छ ।

अध्यक्ष माझीले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउनुहुँदै देश सङ्घीय संरचनामा रहेको सन्दर्भमा प्रदेश सरकारले माझी समुदायको मागलाई सम्बोधन गरिदिन अनुरोध गरे ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै भाषा, धर्म, संकृति, चाडपर्व र रीतिरिवाजको संरक्षण गर्नु सरकारको दायित्व भएकोले लदी पर्वको सार्वजिक बिदाको सन्दर्भमा सल्लाह गरेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । सो सन्दर्भमा संविधानको मौलिक हक अन्तर्गत चाड पर्व मनाउन पाउन उल्लेख भएकोले मुख्यमन्त्री लामाले माझी समुदायको न्याय गर्न आफू तयार रहेको समेत बताए ।

माझी जाति खोला किनारमा बसोवास गर्ने एक आदिवासी जनजाति हो । यो जातिको छुट्टै भाषा, धर्म, संस्कृति र रीतिरिवाज छ । नेपाल सरकारले यस जातिलाई सीमान्तकृत समुदायमा वर्गीकरण गरेको छ । यसको अर्थ यस जातिको संरक्षण र सम्बद्र्धनको दायित्व राज्यको छ भन्ने हो ।

माझीहरूले यसभन्दा अगाडि पनि लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा विदादिन सरकारका धेरै निकायहरुमा धाएको अवगत गराउँदै यसपटक बागमती प्रदेश सरकारले आफूहरुलाई निराशा नबाउने आशा लिएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा एक लाख एघार हजार ३५२ जनसङ्ख्या माझीहरुको रहेको छ । नेपालमा रहेका माझीहरुको कुल जनसङ्ख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ अर्थात कुल जनसङ्ख्याको ३७.४२ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउनका लागि नेपाल माझी उत्थान संघ केन्द्रिय अध्यक्ष चिनिमाया माझी, केन्द्रीय सदस्य तिलक माझी ,पूर्व केन्द्रीय सदस्य रामशरण माझी , माझी मुक्ति मोर्चाका केन्द्रीय प्रतिनिधि लक्ष्मी माझी , मकवानपुर जिल्ला अध्यक्ष लोकेन्द्र माझी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।