प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुँदै

तु खबर संवाददाता
२०८१ माघ २३,बुधबार १६:४८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । महोत्सव हेटौंडा–१३ वडा कार्यालयको आयोजनामा हुन लागेको हो ।

महोत्सव मूल समारोह समितिले बुधबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । सम्मेलनमा महोत्सव समारोह समितिका संयोजक रन्जु गोम्बाले आगामी फागुन ४, ५ र ६ गते गरी तीन दिने महोत्सव आयोजना गर्न लागेको जानकारी दिइन् ।

‘संस्कार, सँस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानीय व्यापार कृषि उपज उत्पादनलाई प्रर्बद्धन गरौं’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको समितिका संयोजक गोम्जाले बताइन् । उनका अनुसार, कार्यक्रम पदमपोखरीस्थित लोकतान्त्रिक चोकमा हुनेछ ।

पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागेको हेटौंडा १३ का वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानीय व्यापार, कृषि उपज उत्पादनलाई प्रर्बद्धन गर्न र वडाबासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष लामाले बताए ।

महोत्सवमा स्थानीय परम्परागत उपभोग्य कृषि उपज सामाग्री, आधुनिक सिपमा विभिन्न सामान उत्पादन, बास जन्य सामाग्री, खानाका विभिन्न परिकारहरु गरी ८० वटा स्टलहरु रहने वडाध्यक्ष लामाले बताए । उनले उक्त स्थटलहरुमा मदिराजन्य पदार्थको विशेष रोक लगाइने बताए ।

उनका अनुसार, ८० स्टलमध्ये २६ वटा टोल विकास समूह र चार वटा विभिन्न संघसंस्था गरी ३० वटा स्टल निःशुल्क दिइनेछ । बाँकी अन्य स्टलहरुको भने तीन दिनको पाँच हजार शुल्क लिइनेछ ।

वडाध्यक्ष लामाले महोत्सवमा १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

यस्तै, महोत्सवमा नेपाली राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने कलाकार संयोजक धिरेन लामाले जानकारी दिए । महोत्सवमा कलाकारहरु रोज मोक्तान, प्रिती आले मगर, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, बिक्रम लुङ्वालगायत स्थानीय ब्याण्ड, कलाकारहरुले प्रस्तुती दिने उनले बताए ।