हेटौंडा १४ लाई बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ माघ २३,बुधबार १५:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ लाई बालमैत्री वडा घोषणा गरिँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा १४ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ २५ गते गते शुक्रबार १४ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष दीपक खड्काले जानकारी दिए ।

उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये हालसम्म ४६ वटा सुचकहरु १०० प्रतिशत, १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हाँसिल भएको वडाध्यक्ष खड्काले बताए ।

१९ वडा रहेको हेटौंडामा बालमैत्री वडा घोषित हुन बाँकी अब यस वडा मात्रै हो । यसअघि हेटौंडा उपमहानगरपालिकाका १८ वटा वडा बालमैत्री वडा घोषित भइसकेको छ ।

उक्त वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्षभन्दा कम उमेर समूहका २ हजार ४ सय ९४ जना बालबालिका रहेका छन् । जसमा १ हजार २ सय ६७ बालक र १ हजार २ सय २७ बालिका रहेका छन् ।

यस्तै, वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्रसहितका ६ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । यसैगरी, समुदाय स्तरमा २२ वटा बाल समूहरु, १ वडा बाल सञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आबद्ध रहेका छन् ।

त्यस्तै, विभिन्न संरचनात्मक समितिहरुमा समेत गरी ५ सय ७० जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ । सो अभियानमा १२ वटा बाल विवाह रोकिएको छ भने विभिन्न बाल श्रमिकको उद्वार गरी पारिवारिक मिलन समेत गरिएको बालमैत्री घोषणा मूल समारोह समितिका संयोजक समेत रहेका वडाध्यक्ष खड्काले जानकारी दिए ।

वडाध्यक्ष खड्काले यसअघि सो वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको बताए । वडाध्यक्ष खड्काले बालमैत्री घोषणा कार्यक्रम हेटौंडा–१४, स्थित भुकुटी माध्यमिक विद्यालयमा गरिने बताए ।

उक्त वडाको कुल क्षेत्रफल १६ दशमलव ३२ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वी सिमाना हेटौंडा–१५, पश्चिम सिमाना हेटौंडा–१३, उत्तर सिमाना हेटौंडा–९ र दक्षिण सिमाना पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ । यस वडाका अधिकाशं भागहरु ग्रामीण स्तरका छन् ।