बागमती प्रदेशमा एचपीभी खोप अभियान शुभारम्भ

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार १७:११

मकवानपुर । बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान शुभारम्भ भएको छ ।

प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित ज्ञानदा माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् ।

सो क्रममा मुख्यमन्त्री लामाले अझै पनि महिलाहरुले समस्या लुकाएर बस्ने गरेको बताए । विशेष गरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले पीडा लुकाएर बस्ने गरेको भन्दै मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा , आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला समन्वय समिति प्रमुख, हेटौंडा उपमहानगरपालिका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

उक्त अभियान अन्तर्गत बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार तीन सय पाँच जना किशोरीलाई खोप दिइने लक्ष्य रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।

निर्देशनालयका अनुसार, खोप अभियान अन्तर्गतका विद्यालय भित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाउने तयारी रहेको छ ।

उक्त अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

खोप अभियानका लागि बागमती प्रदेशमा ४ हजार ५ सय ७९ खोप केन्द्र तोकिएको छ भने ४ हजार ३ सय २४ स्वास्थ्यकर्मीका साथै ८ हजार ७ सय ३६ स्वयंसेवक परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।