सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति सम्मानित

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार १५:०५

मकवानपुर । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति बिक्रम कार्कीलाई सम्मान गरिएको छ ।

सामुदायिक रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा कार्कीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

जिल्लाको प्रतिनिधित्व गरी मकवानपुरलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भनि कार्कीलाई सामुदायिक सम्मान २०८१ प्रदान गरिएको हो । कार्की बकैया गाउँपालिका वडा नम्वर ४ का स्थानीय बासिन्दा हुन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष आनन्दराम पराजुलीलगायतले उक्त नगद रकमसहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै, सो क्रममा रेडियोले सामुदायिक सम्मानमार्फत् अर्का एक व्यक्तिलाई पनि नगदसहित सम्मान गरेको छ । रेडियोले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्थित अमर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मालती उप्रतीलाई पनि नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

यसैगरी, रेडियोले कर्मचारी सम्मानबाट एलिश लुईटेललाई नगदसहित सम्मान गरेको छ । लुईटेललाई ७ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

रेडियोले हरेक वर्ष स्थापना दिवसको अवसरमा समुदायिक सम्मानमार्फत् दुई जनालाई र कर्मचारी सम्मानमार्फत् एक जनालाई नगदसहित सम्मान गर्दै आएको रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

सो अवसरमा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।