मानव अधिकार रक्षकका समस्या तथा चुनौती विषयक अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ माघ ७, सोमबार १०:१६

मकवानपुर । मकवानपुरको हेटौंडामा मानव अधिकार रक्षकका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रिया आइतबार पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको हो । सो क्रममा मकवानपुरका सञ्चारकर्मीले राज्यबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका थिए ।

सहभागी सञ्चारकर्मीहरुले निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण नरहेको बताएका थिए । समाचारका विषयमा राजनीतिक दलबाटै गलत कार्यको पक्षपोषण हुने, अनियमितता, भ्रष्टाचारका विषयमा उठान गर्दा मानसिक दबाब खेप्नुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

राज्यबाट सुरक्षाको प्रत्याभूति नहुँदा मानव अधिकार रक्षकको अग्रपङ्तिमा रहने पत्रकारले नै असुरक्षा महसुस गर्नुपरेको बताउँदै पत्रकारको पेशागत सुरक्षाप्रति सरकार गम्भिर बन्नुपर्ने आवश्यकता औल्याइएको थियो ।

सो क्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले समाचार लेखेकै कारण पत्रकार जेलसम्म जानुपर्ने अवस्था आउनु दुखद् रहेको बताए ।

सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले सञ्चारगृहले अझैपनि महिला पत्रकारका क्षमतामा प्रश्न उठाउने गरेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवन कुमार भट्ट, मानव अधिकार अधिकृत कृष्ण प्रसाद मिश्र, केन्द्रिय प्रतिनिधि, मकवानपुरका क्रियाशिल सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।