हेटौंडामा तमु ल्होसार मनाइयो
हेटौंडा । मकवानपुरको हेटौंडामा तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मनाइएको छ । जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका हुन् ।
तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आज सोमबार हेटौंडा–११ स्थित शहिद स्मारकमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी तमु ल्होछार मनाएको हो । कार्यक्रममा वक्ताहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रर्बद्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–३ का वडाध्यक्ष ढलकबहादुर थापाले सँस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए । उनले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए ।
त्यसैगरी, गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
मकवानपुर जिल्लामा बजेट विनियोजन गर्ने क्रममा आदिवासी जनजातीलाई अन्याय गरेको उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौं स्थानमा रहेको बताउँदै मकवानपुरमा मात्रै १ हजार पाँच सय १८ जना हाराहारीमा गुरुङ समुदायको बसोबास रहेको उनले जानकारी दिए । साथै उनले आफ्नो सँस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे ।
सो क्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मकवानपुरका शाखा अधिकृत संगीता गुरूङ, त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उतिर्ण भई मकवानपुर तमु समुदायका पहिलो व्यक्ती हुने मनिराज गुरूङ, फिजियोथेरापी करियर पथ झ का लेखिका रति कुमारी गुरुङ, मेडिकल व्यवसायी राजु गुरुङ, भू तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुरका कार्यालय प्रमुख सृजना गुरुङ र नेपाल पत्रकार महासघ मकवानपुरका नवनिर्वाचित कार्य समिती सदस्य निशा गुरुङ रहेका छन् ।
यस्तै, कार्यक्रममा स्वर्गीय माधव गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष–२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका–८, की करिष्मा गुरुङ, थाहा नगरपालिका–५ का सुदीप गुरुङ र प्रेरणा गुरुङ, कैलाश गाउँपालिका–१ का विनुता गुरुङ र विना गुरुङलाई नगद ८ हजार ५ सय रुपैयाँसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।
गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष केशरबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवापुरका अध्यक्ष कालू घलान, किरात राई यायोक्ख्या मकवानपुरका अध्यक्ष केबि राई, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देस मगर, थारू कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष संचता नन्द थारू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवा–युवती, बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच–गाँन प्रस्तुत गरेका थिए ।
मकवानपुरमा वि.सं.२०५५ सालदेखि गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छ्न ।
