क्यान्सरविरूद्धको थप एचपिभी खोप ल्याइयो

तु खबर संवाददाता
२०८१ पुष १५, सोमबार १३:१९
file-photo

काठमाडौ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप नेपाल ल्याइएको छ । आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप नेपाल ल्याएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझीले जानकारी दिए ।

एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो ।

निर्देशक डा. रायमाझीका अनुसार, उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ ।

यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले बताए ।

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्ने भएको छ । १५ दिनसम्म संचालन हुने उक्त अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइनेछ ।