हेटौंडा जेसीजलाई सक्षम नेतृत्व प्रदान गर्न मेरो उम्मेदवारीः न्यौपाने
मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२४ का कार्यकारिणी उपाध्यक्ष विवेक आनन्द न्यौपानेले २०२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
सन् २०१७ मा छतेन्द्र आचार्य र शिवकुमार कार्कीको प्रेरणाबाट जेसीज अभियानमा होमिएका उनले पुष १३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
न्यौपाने आफु हेटौंडा जेसीजको मुल नेतृत्वमा आएपछी जेसीजका सदस्य तथा युवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास गर्दै कला र सीप सिकाउने बताउँछन् । सामुदायिक सेवातर्फ समाजमा रहेका समस्या समाधानका लागि जेसीजलाई सक्रिय बनाउने उनको योजना छ । विश्वभरका युवासँग जोडिन र अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्न सञ्जालको विकास गर्ने, जेसीजलाई समुदायसँग जोड्दै यसका गतिविधिलाई अझै प्रभावकारी बनाउने उनी सुनाउँछन् ।
नेपाल जेसीजले आयोजना गर्ने तालिममा हेटौंडा जेसीजका सदस्यहरुलाई सहभागी गराउने, नेपाल जेसीजले आयोजना गर्ने कुनै एउटा कार्यक्रम हेटौंडा जेसीजको संयोजकत्वमा सम्पन्न गर्ने, नेपाल जेसीजमा हेटौंडा जेसीजको प्रतिनिधित्व अझै सशक्त बनाउने उनी बताउँछन् ।
न्यौपानेसँग जेसीजको गरिमालाई कायम राख्दै, संस्थागत विकासतर्फ भवन संरचनालाई व्यवस्थित बनाउँदै व्यावसायिक प्रयोजनको लागि उपर्युक्त बनाउनेलगायतका योजना छन् ।

न्यौपानेले २०२० मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३ मा महासचिव र २०२४ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका छन् । अन्तर जेसीज प्रतियोगितामा ३ पटक प्रथम भएका न्यौपाने नेपाल जेसीजले २०२० मा आयोजना गरेको एरिया बीको ओरेटरी च्याम्पियनसिपमा दोस्रो भए ।
उनले २०२० मा विजनेस डाइरेक्ट्री प्रकाशन गरे, २०२२ मा शाखा सम्पादक हुँदा जेसीजले पूर्ण रंगीन स्मारिका प्रशान गरेको थियो ।
न्यौपाने धनगढीमा आयोजित जेसीआई नेपाल आयोजित विजनेस एकेडेमी, धरानमा आयोजित जेसीआई नेपाल एकेडेमी, झापामा आयोजित जेसीआई नेपाल ट्रेनिङ अफ ट्रेनर्स तालिम हुँदै जेसीआई नेपालले आयोजना गरेको मास्टर्स ट्रेनिङ अफ ट्रेनर्स तालिम र एनएइएएल ३.० नारायणगढमा सहभागी भएर नेतृत्व, व्यक्तित्व विकाससँगै आफुमा निखारता ल्याएका छन् ।
उनले २०२३ मा महासचिव हुँदा एरिया बी मध्येको उत्कृष्ठ महासचिवको अर्वाड पाए । २०२४ मा जेसीजको आयोजनामा एरिया ए र बी को महासचिवहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै २०२४ मै कार्यकारिणी उपाध्यक्ष हुँदा जेसीज सप्ताहको मुल कार्यक्रम संयोजक भएर कार्यकुशलता प्रदर्शन गरे ।
एडभान्स इन्जिनियरिङ कलेजबाट इलेष्ट्रिकल इन्जिनियरिङ गरेका न्यौपानेले हेटौंडामा सीएफएल र एलइडी बल्बको एसेम्बिङ् प्लान्ट चलायर व्यावसायिक जीवनमा प्रवेश गरे । हाल उनी वेव सर्फर नेपालको म्यानेजर हुन् ।
नमस्ते मकवानपुर साकोसको संचालक समिति सदस्य तथा ऋण समितिको संयोजक भएर काम गरेका उनी तत्कालिन लायन्स क्लब अफ हेटौंडा थुथको चार्टर मेम्बर हुन् ।
न्यौपाने बाल्यकालदेखि नै आफुमा केही नयाँ गरौँ, समाजका लागि केही गरौँ भन्ने भावना रहेको बताउँछन् ।

