हेटौंडा–१५ मा शुभकामना आदानप्रदान कार्यक्रम
मकवानपुर । हेटौंडा–१५ मा ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । आइतबार विजय गेतसमनी चर्ज हेटौंडा–१५ को आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा ख्रीष्टमसको शुभकामना दिँदै प्रमुख अतिथि लामाले ख्रीष्टियनहरुको महान् चार्ड ख्रीष्टमस सभ्य ढंगले मनाउन आग्रह गरिन् ।
सबै धर्मावलम्बीको आफ्नै परम्परा रहेको र कतिपय पर्व भड्किलो हुने गरेको बताउँदै उनले सभ्य ढंगले ख्रीष्टमस मनाउन आग्रह गरेकी हुन् । उनले हरेक समुदायका मानिसहरुले धर्म संस्कृतिको रक्षा गर्दै आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासमा गर्दै क्षमता विकास गर्नुपर्ने सुझाव दिइन् । केही नयाँ सिकौँ भन्नेहरुका लागि अहिलेको प्रविधिले अवसर दिएको पनि उनले बताइन् ।

यस्तै, कार्यक्रमका विशेष अतिथि एवम् हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले सरकारले सबै धर्मलाई बराबर मानेर समान नजरले हेर्नुपर्ने बताए ।
उनले नेपाल धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको भन्दै सबै नेपालीहरुको योगदानबाट यो उपलब्धी प्राप्त भएको बताए ।
विजय गेतसमनी चर्जका अध्यक्ष नवराज घलानको सभाध्यक्षमा कार्यक्रम भएको हो ।
