मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नं ५ डिल्लिपुरबाट १३७ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार, राक्सिराङ गाउँपालिकातर्फबाट केही व्यक्तिहरुले गाँजाको भारी बोकी पैदल जैसिङतर्फ आउँदै गरेको भनि प्रहरीलाई जानकारी गराइएको थियो । सोही सूचनाको आधारमा पुगेको प्रहरी टोली उक्त स्थानमा पुग्दा अन्दाजी १०–१२ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले भारी बोकी राप्ती खोला तर्दै गरेको अवस्थामा भेटिएको थियो ।
घटनास्थल पुगेको प्रहरीलाई देख्नासाथ निजहरुले बोकेको सामान (भारी) फाली छोडी फरार भएको र उक्त बोराहरु खोली हेर्दा सो बोराहरु भित्र प्लाष्टिक राखी डोरीले बाँधी प्याक गरेको अवस्थामा उक्त परिणामको गाँजा भेटिएपछि बरामद गरिएको प्रहरीले जनाएको छ ।
फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
