टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ पुष ७, आईतवार ०९:४९
सांकेतिक तस्वीर

विराटनगर । तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको मेन्छ्यायेम गाउँपालिका–५ मा खोलामा टिकटक बनाउन खोज्दा लडेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार, विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबरसँगै गएका विद्यार्थीले ल्याएका थिए । खोंचमा खसेका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।