८७ बिगाहामा लगाइएको गाँजा र अफिम खेती फँडानी
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा र अफिम खेती फँडानी गरेको छ । प्रहरीले गत मंसिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।
४ पालिकामा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका ७५ बिगाह ७ कठ्ठा गाँजा खेती र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ । फँडानी गर्न बाँकी रहेका अन्य स्थानहरुमा क्रमशः अभियानको रुपमा फँडानी तथा नष्ट गर्ने प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आज विहान ४ः४५ बजे डिल्लिपुरबाट १३७ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
