मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

तु खबर संवाददाता
२०८१ मंसिर ३०, आईतवार १६:३०

चितवन । मनकामना केबलकारको सेवा अब दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि आगामी पुस १ र २ गते सेवा बन्द गरिने बताए ।

उनका अनुसार, टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको हो । उक्त केबलकार आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालनमा आउनेछ ।

सो अवधिभर ‘बटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो ।