आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते
धनगढी । कैलालीको एक गोदाममा लागेको आगो निभाउने क्रममा तीन जना घाइते भएका छन् ।
मंगलबार राति बर्दगोरिया गाउँपालिका–२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी हुँदा प्रहरीसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर रहेका छन् ।
घाइतेमध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ । स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेको जनाइएको छ ।
आगलागीबाट करिब ७० लाखको क्षति भएको अनुमान गरिएको छ । उक्त आगो घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो गएराति नै नियन्त्रणमा लिएको थियो ।
