सामाजिक सुरक्षा कोषमा १७ लाख ९४ हजार श्रमिक आबद्ध

तु खबर संवाददाता
२०८१ मंसिर ११, मंगलवार १७:१५
file-photo

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाखभन्दा बढी श्रमिक आबद्ध भएका छन् ।

औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आबद्ध गराउने उक्त कोषमा हालसम्म १७ लाख ९४ हजार श्रमिक आबद्ध रहेको कोषका कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, आन्तरिक श्रम बजारमा रहेका १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार ३ सय ८८ श्रमिकलाई आबद्ध गराएका छन् ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकलाई पनि यसमा आबद्ध गराइएको छ ।

कोषले सञ्चालन गरेका औषधी उपचार तथा मातृत्व योजनामा ३ लाख ७४ हजार १ सय वटा दाबीबापत १ अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा ७ हजार १ सय १७ वटा दाबीबापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ५ सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख भुक्तनी गरिसकेको छ ।

यसैगरी, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ९ अर्ब ८० करोड गरी ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको उनले बताए ।