चैनपुर जेसीज मनहरीको सप्ताह सुरु, आज रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८१ कार्तिक २६, सोमबार १८:५९

मकवानपुर । चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को जेसीज सप्ताह सुरु भएको छ । मनहरी–४ मा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता समेत आयोजना गरिरहेको जैसीस मनहरीको सप्ताह आजबाट सुरु भएको हो ।

सप्ताहको आज पहिलो दिन मनहरी–७ मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम संयोजक अभिनास मल्लको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यता रहेको थियो ।

पछिल्लो समय स्थापना भएको जेसीजले मकवानपुरको पश्चिमी भेगमा राम्रो कामहरु गरिरहेको भन्दै वडाध्यक्ष तितुङले जेसीजको प्रशंसा गरे ।

कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, सल्लाहकारद्वय ज्योतिराज लुइँटेल र बिदुर थापा, रेडक्रस सोसाइटी मनहरी उपशाखा कोषाध्यक्ष शिवकुमार काशी, उद्योग वाणिज्य संघ मनहरीका निवर्तमान अध्यक्ष नारायण सुवेदी, कुखुरा व्यवसायी संघ मकवानपुर उपाध्यक्ष गोविन्द सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जेसीज सप्ताहको विषयमा प्रष्ट पारेका थिए ।

जेसीज सप्ताह अन्तर्गत मंगलबार प्रगति प्रावि लोथरमा स्टेशनरी सामग्री वितरण, बुधबार स्लो मोटरसाइकल रेस प्रतियोगिता, बिहीबार महेन्द्र ज्योति मावि हाँडीखोलामा लागूपदार्थ दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम, शुक्रबार ‘समाजका लागि युवा’ विषकयमा बालज्योति मावि मनहरी १ मा वत्तृत्वकला र शनिबार हाँडीखोलाको लामिटारदेखि गोलघरसम्म जेसीज दौड प्रतियोगिता हुनेछ ।