आजदेखि विधिपूर्वक छठ पर्व सुरु
काठमाडौं । मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने उक्त पर्व आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको प्रमुख विशेषता रहेको छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सो पर्व श्रद्धापूर्वक मनाइने गरिन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यस पर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् ।
यस्तै, पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने प्रचलन छ ।
त्यस्तै, षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछ ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछ ।
त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
