सानोपोखरा चोकमा सवारी दुर्घटना, बच्चालाई स्टेरिङ दिँदा पैदलयात्री र स्कुटर चालक गम्भीर घाइते

तु खबर संवाददाता
२०८१ कार्तिक १६, शुक्रबार १४:२३

काठमाडौं । एक जना चालकको लापरवाहीका कारण हेटौडाको सानोपोखरा चोकमा डरलाग्दो दुर्घटना हुन पुगेको छ । बा १३ च २००७ नम्वरको कारका चालकले लापरवाही गर्दा सडक किनारामा हिडिरहेका एक जना पैदलयात्रु र ना ६४ प २८३६ नम्वरकी स्कुटर चालक घाइते हुन पुगेकी हुन् ।

प्रत्यक्षदर्शीले बताए अनुसार उच्च गतिमा रहेको कारका चालकले बच्चालाई स्टेरिङ दिँदा सडकको दक्षिणतर्फ किनारामा हिडिरहेका पैदलयात्री र स्कुटरमा बसिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको हेटौडास्थित अस्पतलामा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको नाम ठेगाना सम्बन्धी विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा दुई वटा स्कुटर समेतमा क्षति पुगेको छ । सडक किनारामा राखिएको स्कुटरमा समेत क्षति पुगेको छ । लापरवाहीपूर्ण तरिकाले चलाइएको कारका गल्तीका कारण तिहारको समयमा काममा बाहिर निस्केका दुई जना अनाहकमा घाइते हुन पुगेका छन् ।

कार चालक, बच्चा र उनको साथमा रहेका अर्का एक यात्रु भने कारको एयरब्याग खुलेकाले खासै घाइते भएका छैनन् । दुर्घटनाग्रस्त कारमा ठूलो क्षति पुगेको छ । विद्युतको पोलमा ठोक्किएर नरोक्किएको भए सानोपोखराको सडक किनारामा हिडेका यात्रु र पार्किङ गरिएका थुप्रै मोटरसाइकल क्षति पुग्ने थियो ।