ग्याल्बो राजाको विशेष शो हुने
मकवानपुर । चलचित्र ग्याल्बो राजाको हेटौंडामा विशेष शो हुने भएको छ । चलचित्र युनिटले भोलि १४ गते ओम्याक्स हलमा विशेष शो हुने जानकारी दिएको छ ।
चलचित्रका निर्देशक विनायक तामाङका अनुसार ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्र ग्याल्बो राजामा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय छ ।
असोज १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली भाषामा प्रदर्शन भएको चलचित्र हेर्न छुटेकाहरुको लागि पुनः शो राखिएको निर्देशक तामाङले बताए । चलचित्र मकवानपुरको विभिन्न स्थान र काठमाडौंमा छाँयाकन गरिएको उनले बताए ।
चलचित्र उत्कृष्ट बनेकोले पार्ट २ पनि निर्माण गरिने निर्माता संगीता तितुङले बताइन् । चलचित्र निर्माणमा करिब २० लाख खर्च भएको उनले बताइन् ।
कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रलाई विश्व दोङ र नीमा दोङले संयुक्त रुपमा संगीत भरेका छन् । चलचित्रमा राजु किरातको द्वन्द्व र राजु शिशिरको नृत्य निर्देशन रहेको छ । निर्देशक तामाङले यसअघि सेमला दुङ्गाल, ज्योज्यो आले, मैच्याङ, चु–माया, मनको साथी, डम्फुरे लगायत १० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
