हेटौंडामा रोयल्टी बाँडफाँट सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ कार्तिक १३, मंगलवार ०९:२५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल्टी बाँडफाँटका लागि भएका व्यवस्था पुनरावलोकन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा सोमबार भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी तीन तहका सरकारबीच बाँडफाँटका लागि भएका व्यवस्था पुनरावलोकन सम्बन्धी अन्तरक्रियाको आयोजना गरेको हो ।

प्राकृतिक स्रोतको परिचालनबाट अहिले ५० प्रतिशत संघ र २५÷२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा जाने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई पुनरावलोकन गर्नका लागि आयोगले प्रदेश स्तरमा गएर सुझाव संकलन गरेको हो ।

कार्यक्रममा प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको सहभागिता रहेको थियो । सो क्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्राकृतिक श्र्रोतको संरक्षण गर्नेलाई स्वभाविक रुपमा बढी रोयल्टी दिनुपर्नेमा जोड दिए । उनले संघीयताको पालनालाई प्राथमिकतामा राख्दै तीनै तहको सरकारलाई बलियो बनाउने गरि रोयल्टी वितरण गर्नुपर्ने बताए ।

यस्तै, छलफलमा सहभागीहरुले प्राकृतिक श्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धित श्रोतको संरक्षण, प्रबद्र्धन तथा सो बाट प्रभावितको क्षेत्रका लागि प्रयोग गर्नुपर्ने बताएका थिए । सहभागीले प्राकृतिक श्रोतको विषय क्षेत्र थप गर्न समेत आयोगलाई सुझाव दिएका थिए ।

अन्तरक्रिया कार्यक्रम आयोगका अध्यक्ष डा. बालानन्द पौडेलको अध्यक्षतामा भएको हो ।