हेटौंडा अस्पतालमा अब मोबाइलमार्फत् टिकट बुकिङ गर्न सकिने

तु खबर संवाददाता
२०८१ कार्तिक १, बिहीबार १०:१५

मकवानपुर । हेटौंडा अस्पतालले बिरामीलाई सजिलो बनाउन मोबाइलमार्फत् टिकट बुकिङ सेवा सुरु गरेको छ । उक्त सेवा आजबाट सुरु हुँदैछ ।

यससँगै अब बिरामीले अस्पतालमा लामो लाइनमा बस्न नपर्ने र घरमै बसेर मोबाइलबाटै टिकट बुक गर्न सक्नेछन् ।

अस्पतालको नयाँ प्रणाली अनुसार, नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुक गर्न सकिनेछ ।

बिरामीले मोबाइल एपमार्फत् कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन् । पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुक गर्न सक्ने अस्पतालले जनाएको छ ।

साथै, परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत् टिकट लिन सकिनेछ । जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुक गर्नुपर्नेछ ।

बिरामीले एपमार्फत् ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्नेछन् । मोबाइलबाट टिकट बुक गर्न बिरामीले पहिले अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्ने र त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्ने जनाइएको छ ।

दर्ता गरेपछि बिरामीले कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिनेछ ।