कोशी र मधेस प्रदेशमा मनसुनी वायुको प्रभाव, वर्षाको संभावना
काठमाडौँ । आज कोशी प्रदेश र मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
