नेपाल शान्ति र सुरक्षामा योगदान गर्न तयारः प्रधानमन्त्री

तु खबर संवाददाता
२०८१ आश्विन ११,शुक्रबार १८:२८
तस्विर: प्रदिपराज वन्त

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र सुरक्षामा योगदान गर्न तयार रहेको बताएका छ्न

प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपालले योगदान गर्न तयार बताएका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आग्रह गरे ।

सो क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराएका थिए ।

साथै उनले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ विदेश नीति सञ्चालन गरिरहेको पनि बताए । सम्बोधनको क्रममा उनले छिमेकी राष्ट्र र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।