लमजुङमा अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते

तु खबर संवाददाता
२०८१ आश्विन १०, बिहीबार १५:४९

लमजुङ । लमजुङमा आज बिहान अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चार जना विद्यार्थी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ रहेका छन् ।

घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको जनाइएको छ ।

घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।