बागमती प्रदेशः संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहर्याइयो
मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय झण्डा फहर्याइएको छ ।
विविध कार्यक्रम गरी संविधान दिवस मनाउन गठित प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार, बुधबार हेटौंडाको मुटु भनेर चिनिने बुद्ध चोक र हेटौंडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा राष्ट्रिय झण्डा फहर्याइएको हो ।
कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै मन्त्री लामिछानेले मुलुकमा संविधानको मर्म अनुसार सबै राजनीतिक दलहरुले जनताप्रति केन्द्रित रहेर काम गरेर संसदीय प्रजातन्त्रको भविष्य उज्वल हुने बताए ।
उनले गणतान्त्रिक संसदीय प्रजातन्त्रको विकल्प आम जनताले नचाहेको भन्दै ती समूहहरुले जनमतको इच्छालाई बुझ्ने प्रयास गर्नुपर्नेमा जोड दिए ।
उक्त दिवसको अवसरमा नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा प्रदेशका १३ वटै जिल्लामा निजी क्षेत्रबाट संचालित विभिन्न सवारीसाधनहरुमा समेत राष्ट्रिय झण्डा फह¥र्याएको संघका सल्लाहकार बद्रिप्रसाद चौलागाईँले जानकारी दिए ।
विविध कार्यक्रम गरी संविधान दिवस मनाउने क्रममा भोलि असोज ३ गते संविधान दिवसको दिन बिहानै प्रभातभफेरी कार्यक्रमको आयोजना गरी हेटौंडा नगरको परिक्रममा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा पुगेर कोणसभा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दोर्जे बताए ।
