एमालेका सांसदद्वारा उपसभामुखको राजीनामा माग
काठमाडौं । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने एमाले सांसदहरूले उपसभामुख रानाको राजीनामा माग गरेका हुन् । उनीहरुले नैतिकताको आधारमा उपसभामुख रानाले राजीनामम दिनुपर्ने माग गरेका हुन् ।
बैठकमा सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने बताए । उनले पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको भन्दै उपसभामुखले राजीनामा दिनुपर्ने बताए ।
यस्तै, अर्का सांसद गोकुल बास्कोटाले विशेष समयमा बोल्दै लोकतन्त्रमा प्रश्न उठाउन पाइने भन्दै नैतिकताको कसीमा जाँच्ने अवसर आएको बताए । उनले पनि सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले उपसभामुखले पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
यस्तै, सांसद शोभा ज्ञवालीले पनि उपसभामुख रानाले लेखेको पत्रको यथार्थ माग गरिन् । उनले केही समयअघि उपसभामुखको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिठ्ठी पठाएको कुरा के हो भन्दै प्र्रश्न गरे ।
संविधानको धारा ९१ मा प्रतिनिधि सभा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त रहने व्यवस्था गरिएको छ ।
६ (ग) मा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पद रिक्त हुने व्यवस्था रहेको छ ।
