सभापति र महामन्त्रीद्वयको कुरा नमिलेपछि कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो

तु खबर संवाददाता
२०८१ भाद्र ११, मंगलवार १६:१२
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ । भोलि भदौ १२ गते बस्ने गरी आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सरेको हो ।

विवाद समाधान गर्न भनि सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि आह्वान गरेका थिए ।

छलफलको क्रममा प्रतिवेदन उपर कुरा नमिलेपछि केन्द्रीय समिति बैठकको मिति सारेको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार, उक्त बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।

महामन्त्री शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् ।

यसैगरी, अर्का महामन्त्री थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा गत साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ गते बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गतेसम्मका लागि बैठक स्थगन गरिएको थियो ।