सभापति देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् ।
सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन् ।
सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफल गर्ने गरी उनीहरुलाई बोलाएको सभापति देउवा निकट एक नेताले बताए ।
ती नेताका अनुसार, बिहान ११ बजे छलफलमा बोलाएका हुन् । सो छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुनेछ ।
कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् ।
यसैगरी, अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।
यी दुई विषयमा विवाद हुँदा गत साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो ।
भदौ ७ गते बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो ।
