हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रम

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:५२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बालश्रम र बालश्रम नीति सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ ।

बिहीबार नागरिक मञ्चको सहकार्यमा बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम नागरिक संस्थाहरुको साझा मञ्च, दिगो विकास लक्ष्य ८ दशमलव ७ का लागि नागरिक मञ्च र मञ्चमा आवद्ध नागरिक संस्था र सञ्जालहरुको सहभागितामा आयोजना गरिएको हो ।

कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा मुख्यमन्त्री लामाले संघ, प्रदेश र स्थानीय तहको समन्वयको अभावमा संविधान कार्यान्वयनमा जटिलता देखिएको बताए । उनले संविधानको व्यवस्था अनुसार निर्धारित अधिकार सूची र साझा अधिकार सूचिका कानुन निर्माणमा तीन तहका सरकारसँग समन्वय गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

समन्वय र सहकार्य हुन नसक्दा बनेका कतिपय कानुनहरु समेत कार्यान्वयनमा समस्या भइरहेको उनको भनाई छ । उनले पछिल्लो समय बालश्रम र अधिकारका विषय चुनौतिको रुपमा देखिएको भन्दै दुःख व्यक्त गरे । बालश्रम पूर्णरुपमा निर्मूल गर्न नसकेपनि निरन्तरको प्रयत्नबाट न्यूनीकारण गर्न सकिने उनले बताए ।

कार्यक्रममा प्रदेशका मन्त्री र प्रदेश सभा सदस्य, बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाललगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

दुई लाख बालबालिका जोखिमपुर्ण बालश्रममा

नेपालमा अझै दुई लाख बालबालिका जोखिमपुर्ण बालश्रममा रहेको पाइएको छ । बालश्रम निवारणको क्षेत्रमा नेपालले विगतको तुलनामा सुधार गरेको भएपनि अझै करिब २ लाख बालबालिका जोखिमपुर्ण बालश्रममा रहेको पाइएको हो ।

१४ देखि १७ वर्ष उमेर समूहका बाबालिकाको कुल जनसंख्यामध्ये १० प्रतिशत र ५ देखि १३ वर्ष उमेर समूहका बालबालिकामध्ये १८ प्रतिशत संख्या बालश्रममा रहेको नागरिक मञ्चको नीतिगत पैरवीपत्रमा उल्लेख गरिएको छ ।