हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन एमालेको माग

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १०:१८

मकवानपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन माग गरेका छन् ।

राजस्व दरमा अस्वभाविक वृद्धि गरेको विषयप्रति विरोध जनाउँदै उनीहरुले संशोधन गर्नुपर्ने एजेण्डासहित विशेष नगर सभा बोलाउन माग गरेका हुन् ।

नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग गर्दै प्रमुख प्रशासकिय अधिकृतमार्फत् नगर प्रमुख र उपप्रमुखलाई निवेदन पेश गरेका हुन् ।

विशेष नगर सभा माग पछिको पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बागमती प्रदेश सरकारको गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि र हेटौंडा उपमहानगरपालिकाको नगर सभा संचालन कार्यविधि २०७४ बमोजिम विशेष नगर सभा बोलाउन माग गरिएको जानकारी दिए ।

जनताको अभिमतद्वारा निर्वाचित जनप्रतिनिधिहरुको निर्णयले जनतालाई नै मारमा पर्ने अवस्था श्रृजना हुनु दुःखद रहेको भन्दै उनले अब यस्तो छिट्टै नै समाधान पर्नुपर्नेमा जोड दिए ।

साथै एमालेका जनप्रतिनिधिहरुले नगर सभा आव्हान नगरिए हेटौंडा उपमहानगरको सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

विशेष नगर सभा बैठक आव्हान पत्रमा ४८ सदस्यहरूले हस्ताक्षर गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ९४ नगर सभा सदस्य रहेका छन् ।