बागमतीका प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनले पदभार ग्रहण गरेका हुन् । बुधबार प्रदेश प्रमुखमा नियुक्त भएका उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
नेकपा एमालेबाट प्रदेश प्रमुख बनेका देवकोटा धनगढीका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख बनेका हुन् ।
बागमतीमा यसअघि यादवचन्द्र शर्मा तेस्रो प्रदेश प्रमुख थिए भने अनुराधा कोइराला पहिलो र विष्णुप्रसाद प्रसाई दोस्रो प्रदेश प्रमुख बनेका थिए ।
शर्मा नेकपा माओवादी नेतृत्वको सरकार हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी निकट शर्मा २०७८ भदौ ४ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्री तथा सचिवहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सोही अवसरमा निवर्तमान प्रदेश प्रमुख शर्माको बिदाइ समेत गरिएको थियो ।