आज संसद् अन्तरगत दुबै सदनको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार ०९:३२
file photo

काठमाडौं । संघीय संसद् अन्तरगत रहेको दुबै सदनको बैठक आज बस्ने भएको छ । संसद् अन्तरगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

दुबै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । जसअनुसार, प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित गरियोस् भनि सदनमा प्रस्ताव प्रस्तुत गर्ने र बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूचीले निरन्तरता पाउने जनाइएको छ ।

यस्तै, दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । सो बैठकमा पनि आज दुई वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’’ राष्ट्रिय सभामा पेश गर्नेछन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।